Just another WordPress site

मिल्स भेट्रान : दमक च्याम्पियन

0 43

विराटनगर : झापाको दमक-लखनपुर भेट्रान क्लब विराटनगरमा सम्पन्न प्रथम टुबोर्ग मिल्स भेट्रान गोल्डकप च्याम्पियन बनेको छ। विराटनगर जुट मिल्सको मैदानमा सोमबार भएको फाइनल खेलमा टाइब्रेकरमार्फत विराटनगर हाटखोलाको मर्निङ भेट्रान क्लबलाई स्तब्ध बनाउँदै दमक-लखनपुरले उपाधि उचालेको हो। निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो गर्न टाइब्रेकरको मद्धत लिँदा पाहुना टोली दमक-लखनपुर ४-३ गोल अन्तरले विजयी बन्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टिमले मध्यान्तरपछि गोल गरेका हुन्। खेलको अन्तिम समयसम्म दमक-लखनपुर २-१ गोलको स्थितिमा रहेको थियो। दमक-लखनपुरले आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा निर्धारित समय २-२ गोलको स्थितिमा सकियो।

टाइब्रेकरमा भने हाटखोलामाथि ४-३ गोल अन्तरले हाबी बन्दै दमक-लखनपुर च्याम्पियन बनेको हो। दमक-लखनपुरका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवास आङ्थुपोले गोल गरे। एलबी आलेको प्रहार गोलरक्षकको हातमा पुग्यो। हाटखोलाका सुरेन्द्र तामाङ, अंकुर खड्गी, सुरज श्रेष्ठले गोल गरे। नवीन्द्र लिम्बूको प्रहारले विपक्षी बार भत्काउन सकेन। अन्तिममा प्रहार गरेका लाक्पा लामाको प्रहार पोष्टमाथिबाट बाहिरियो।
खेलको ४९औं मिनेटमा दमक-लखनपुरका देउमान लिम्बूले पाएको क्रसपासमा हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। लगत्तै ५०औं मिनेटमा हाटखोलाका सुरेन्द्र तामाङले जावाफी गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। ५८औं मिनेटमा सुवास आङ्थुपोले सेन्टरबाट ट्याक्ल अघि बढाएको बललाई वान भर्सेस वानको स्थितिमा जाली चुमाउँदा दमक-लखनपुर २-१ गोल अन्तरले अघि बढ्यो।

खेल सकिन ३० सेकेण्ड बाँकी हुँदा हाटखोलाका सुरज श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याए। फाइनल खेलको म्यान अफ दी म्याच दमकका गोलरक्षक सुनील तामाङ भए। सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवास आङ्थुपो भए। प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी प्राप्त गरेको खेल संयोजक मनोज खड्काले बताए। उनका अनुसार व्यक्तिगततर्फ प्रति खेलाडी २ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरियो।

फाइनल खेलका अवसरमा पूर्व खेलाडी ललित थापा, गोर्वद्धन आले, गम्भीर लामा र अन्नतराज थापालाई सम्मान गरियो। खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, उद्योगी तथा समाजसेवी अरुण राठी, वडाध्यक्ष उद्धव भुजेल, किशोर शाही, खेल संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरे।